Wednesday, November 25, 2009

बादलभित्रको स्वर्ग

illam- प्रतीक्षा कट्टेल

बादलुको घुम्टोले इलाम बजार छोपिदाँ
मैले सबलाई बिर्सेछु तिमीलाई सम्भिmँदा


गायक यम बरालले भनेजस्तै इलाम बजार प्रकृतिप्रेमीहरुका लागि प्रेमिकाजस्तै छ । नेपालको पूर्वी भागमा अवस्थित हरिया डाँडाकाँडाले ढाकिएको सुन्दर ठाउँ हो इलाम । पूर्वमा पश्चिम बङ्गालको पर्यटकीय ठाउँ दार्जीलिङसँग जोडिएको इलाम पश्चितर्फ धनकुटा र मोरङ जिल्लासँगको गाँसिएको छ । दक्षिणको सिमाना झापासँग र उत्तरतर्फ पाँचथरसँग जोडिएको इलाम नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो । १७०३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको इलाममा मध्यम किसिमको हावापानी पाइन्छ । बिहानीको सूर्योदयको मनमोहक दृश्य र 3455kanyam_1280बङ्गालको खाडीतिरबाट बहने कुहिरोले इलामको सुन्दरतामा चमक थपिरहेको हुन्छ । इलामलाई बादलभित्रको स्वर्ग भन्दा फरक पर्दैन ।


मौसमी दृष्टिकोणले वातावरण ओसिलो भएपनि यहाँको प्राकृतिक सुन्दरता, भू-बनोट र चियाबगानको हरियाली हेर्न पाएपछि त जोकोही पनि आनन्दले नरमाइरहन सक्दैन । विशेषगरी मनोमोहक देखिने चियाबगानहरुले इलामलाई स्वर्गजस्तै बनाएका छन् । प्राकृतिक सुन्दरताबारे इलामको जति बखान गरेपनि कमै हुन्छ । धार्मिकस्थलहरुले पनि इलामलाई थप सुन्दर बनाएका छन् । त्यसैले यो घुमफिर र पर्यटकीय क्षेत्रका हिसाबले पर्यटकहरुको महत्वपूर्ण गन्तव्य बन्दै आएको छ । इलाम छोटो र लामो समय दुबैका लागि राम्रो गन्तव्य हो । यस ठाउँले सबैलाई मोहनी लगाएरै छाड्छ ।


img_0087_1024इलाममा प्राकृतिक सौन्दर्यताको दृश्यावलोकन गर्ने स्थान धेरै भएकाले कम्तीमा पनि १२ दिनको समय निकालेर जाँदा राम्रो हुन्छ । सबैतिर यातायात पुगेकोले आउन-जानका लागि कुनै चिन्ता लिनुपर्दैन । काठमाडौँबाट गाडीमा जाँदा इलाम पुग्न एकदिन लाग्छ भने विमानमा जानेहरु एक घण्टामै झापा र त्यहाँबाट साढे तीन घण्टाको मोटर यात्रापछि इलाम पुग्छन् । इलाम बजार विकसित भएकोले खान र बस्नका लागि कुनै अप्ठ्यारो पर्दैन । यहाँ प्रशस्त रेष्टुराँ र होटलहरु छन् । खाना पनि विभिन्न स्वादका पाइन्छन् ।


यसबाहेक इलाम घुम्दा अरु फाइदाहरु पनि छन् । यो ठाउँ अदुवा, अमलिसो, अकबरे, ओलन, खुर्सानी, आलु आदिका कारण पनि प्रख्यात छ । कन्याम, माइपोखरी, सन्दकपुर, श्रीअन्तु, सिद्धीथुम्का आदि छुटाउनै नहुने ठाउँहरु हुन् ।

कन्यामः
kanyam_1481इलाम बजारदेखि डेढघण्टाको दूरीमा रहेको कन्याम इलामको ज्यादै लोकपि्रय र सुन्दर ठाउँ हो । कन्यामका डाँडापाखालाई हरिया चिया बगानहरुले निकै सुशोभित बनाएका छन् । यो ठाउँमा घुम्ने र वनभोज जानेमात्र नभएर सुटिङ गर्नेहरुको पनि भीड लागेको हुन्छ ।

कन्याम चियाबगानबाट नजिकै देखिने कञ्चनजङ्घा हिमालको दृश्यले झनै मोहित बनाउँछ । इलाम बजारबाट बिहानै हिँडेपछि कन्याम घुमेर साँझ इलाम बजार नै र्फकन पनि सकिन्छ । होटल र रेष्टुराँहरुको व्यवस्था भएकाले एकरात यतै बिताउन पनि सकिन्छ ।

माइपोखरीः
इलाम बजारबाट उत्तर १५ किमीको दूरीमा रहेको पवित्र धार्मिकस्थल हो माइपोखरी । इलामडाँडामा रहेको नौकुने पोखरी वरिपरिको वनजङ्गल अत्यन्त मनमोहन देखिन्छ । करिब एक माइलको गोलाइमा रहेको उक्त पोखरीमा विभिन्न जातका रङ्गी-बिरङ्गी माछाहरुले खेलिरहेको दृश्य कम सुन्दर र रोचक लाग्दैन । सातहजार फिट उचाइमा रहेको उक्त पोखरीका छेउछाउमा देवीदेवताका मन्दिरहरु पनि छन् । यहाँ धेरै सन्त महात्माहरु पनि बस्दै आएका छन् । त्यसकारण मानिसहरु यो ठाउँलाई धार्मिक दृष्टिकोणले निकै महत्वपूर्ण मान्दै आए
का छन् ।

img_0833_400सिजनमा राता गुराँसका थुँगाहरुले सजिएका बोटहरुले यस ठाउँको सौन्दर्यता बढाउँछन् । यतिमात्र नभएर माइपोखरीलाई जैविक विविधताको हिसाबले पनि धनी मानिन्छ ।
यहाँका अनेक प्रका
रका जीवजन्तु र बोटविरुवाहरुले आफ्नो जीवनचक्र चलाइरहेका छन् । त्यसैले धार्मिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण क्षेत्र मानिएको यो ठाउँमा आन्तरिक र बाह्य पर्यटकहरुको ठूलो भीड लाग्नेगर्छ ।

यहाँका बासिन्दाहरुले पर्यटकहरुलाई पाहुनाजस्तै सत्कार गर्छन् र कुनैपनि सुविधाको कमी हुन दिँदैनन् । यहाँ खान र बस्नका लागि कुनै समस्या पर्दैन । नौकुने पोखरी माइपोखरीमा नौवटा देवीहरुको बास रहेको जनविश्वास रहँदै आएको छ ।

सन्दकपुरः
१२ हजार ७२ फिटको उचाइमा रहेको सन्दकपुर पुग्न इलाममाबु, माइमजुवा हुँदै जानुपर्छ । माइखोलाको मुहान सन्दकपुरलाई इलामको विशिष्ट पर्यटकीयस्थलका रुपमा लिइन्छ । त्यसैले यहाँ पर्यटकलाई यातायातको सहज सुविधा दिनका लागि स्थानीयस्तरबाट मोटरबाटो बनाउने पहल पनि भइरहेको छ । कञ्चनजङ्घा हिमालको दृश्यावलोकनका लागि महत्वपूर्ण मानिने सन्दकपुर भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति रहने ठाउँ हो ।

सिंहलीला, पर्वतश्रृङ्खला, महाभारत पर्वत श्रृङ्खला, दार्जीलिङ, मधेस र सिक्किमको मनोरम दृश्य देख्न सकिने भएकोले सन्दकपुर क्षेत्रलाई राष्ट्रकै महत्वपूर्ण पर्यटकीयस्थल मानिन्छ । पर्यटकीय क्षेत्र भएकाले यहाँ आगन्तुकहरुका लागि खान र बस्नको राम्रो सुविधा छ ।

श्रीअन्तुः
श्रीअन्तु पनि इलामको महत्वपूर्ण पर्यटकीयस्थल हो । यो नेपालको यस्तो स्थान हो, जहाँ सबैभन्दा पहिले सूर्योदय हुन्छ । त्यसैले सयौँ मानिसहरु सूर्य उदाएको हेर्न बिहान सबेरै सन्दुक आउँछन् । श्रीअन्तु पर्यटनका लागि निकै महत्वपूर्ण र विकसित ठाउँ हो । यहाँ बेलाबेलामा श्रीअन्तु महोत्सवको आयोजना गर्ने गरिन्छ । यसबेला यहाँ मानिसहरुको निकै ठूलो भीड लाग्छ ।
पर्यटकहरु यहाँको सुन्दर दृश्यको आनन्द लिन निकै आतुर देखिन्छन् । क्यामराको क्लिक-क्लिकसँग खुब रमाउँछन् उनीहरु । लेन्सबाट पहिलो सूर्योदयको किरणलाई नाप्दा र लेन्सबाट त्यसलाई तस्वीरमा कैद गर्दाको आनन्द बेग्लै हुन्छ ।

सवारी साधनलगायत पर्यटनका लागि आवश्यक पूर्वाधारको राम्रो सुविधा भएकाले फिक्कलदेखि मोटरबाटै यहाँ पुग्न सकिन्छ । समुद्रको सत्तहबाट निस्कदै गरेको सूर्यको उषाकिरणले श्रीअन्तुलाई स्पर्श गर्दा लाग्छ- यो दुलहीझैँ सिँगारिएको छ । यतिबेला दृश्यावलोकन गर्नेहरु सहजै स्वर्गमा भएको अनुभूत गर्छन् । त्यतिमात्र नभएर यहाँका स्थानीय बासिन्दाहरुको खेतीबाली र खर्साङको बगान पनि निकै आकर्षक देखिन्छ । नेपालकै महत्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले यहाँ खान-बस्नको राम्रो सुविधा छ ।

सिद्धीगुम्बा
इलाम बजारदेखि पश्चिम दिशातर्फ रहेको सिद्धीगुम्बा धार्मिक र पर्यटकीय दुवै हिसाबले निकै महत्वपूर्ण ठाउँ हो । यहाँ सिद्धीगुम्बा देवीको मन्दिर पनि रहेकाले दर्शनका लागि सयौँ पर्यटकहरु आउने गर्दछन् । सिद्धीदेवीको दर्शक गर्दा आफ्ना इच्छाहरु सबै पूरा हुने जनविश्वास छ । यतिमात्र नभएर यहाँबाट सूर्योदय र सूर्यास्त दुवैको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । छ हजार फिटको उचाइमा रहेको सिद्धीगुम्बाका हरियाली फाँटहरु र विभिन्न जनजातिहरुका धार्मिक तथा साँस्कृतिक स्वरुपहरु देख्न र अवलोकन गर्न पनि यो ठाउँ निकै महत्वपूर्ण मानिन्छ । मोटर र पैदल दुवै यात्रा गरेर यहाँ पुग्न सकिन्छ ।

सिद्धीगुम्बा पर्यटकीय स्थान भएकोले यहाँ खान र बस्नका लागि चिन्ता गर्नुपर्दैन । पैदल हिँड्दा इलाम बजारबाट तीन घण्टामा यो स्थानमा पुग्न सकिन्छ भने मोटरमा लगभग दुई घण्टा लाग्छ । सिद्धीगुम्बा एउटा त्यस्तो गाउँ पनि हो, जहाँबाट इलाम जिल्लाका सबै ४८ गाविस देख्न सकिन्छ ।

स्रोत नेपालीपत्र डटकम

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers