Thursday, January 7, 2010

जी फ्याक्टरः युवा पुस्ता र मिडिया शिक्षा

-यमबहादुर दुरा
समयले जति-जति आधुनिकताको रुप ग्रहण गर्दैछ, त्यति-त्यति मिडियाको महत्व बढ्दै गएको छ । नेपालजस्तो राजनीतिक अस्थिरताको पञ्जामा परेको मुलुकमा मिडियाको महत्व झनै बढेर गएको देखिन्छ । नागरिकको 'मुड' प्रतिबिम्बित हुने सडक, सभासद्हरुको 'मुड' प्रतिबिम्बित हुने संसद्, अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा मानिने सेयर बजार, गतिछाडा बन्दै गएको राजनीति, बदलिँदो सामाजिक परिदृश्य, छिनछिनमा बदलिँदै गएको विश्व परिदृश्यलगायत जीवन र जगतसित गाँसिएका तमाम पक्षहरुबारे सूचना प्राप्त गर्ने मूलस्रोत मिडिया नै भएकोले मिडियाको महत्वलाई नकार्न सकिने अवस्था छैन । यी सम्पूर्ण पक्षहरुलाई नियाल्दा मिडिया अघि-अघि दगुर्दैछ र दुनियाँ मिडियाको पछिपछि । यस वास्तविकतालाई समयले प्रमाणित गर्दै लगेको छ ।


सडकको क्रोधपूर्ण भीडको 'मुड'बाट आÏना सवारीसाधनलाई जोगाउन गाडी निकाल्ने कि ननिकाल्ने भनेर अन्यमनस्क अवस्थामा पुगेका यातायात व्यवसायीको दोधार मेटाउने काम पनि मिडियाले नै गर्छ । सडकमा के बोल्ने अनि सदनमा के भन्ने, आफूलाई चन्दा दिने व्यापारी समुदायको मागलाई कसरी सम्बोधन गर्ने अनि आफूलाई भोट दिएर राजनीतिको चापी हातमा थमाइदिने जनतालाई के आश्वासन दिने भन्ने बारेमा अलमलमा परेका नेतालाई सामाजिक परिवेशबारे यथार्थ सूचना दिएर बाटो देखाइदिने काम पनि मिडियाले नै गरेको छ ।
खेतबारीमा कस्ता बीउबिजन र मल प्रयोग गर्ने अनि आफूले उत्पादन गरेको तरकारीलगायतका मुद्रान्न मध्यस्थकर्तालाई बेच्ने कि आफै बजारसम्म पुगेर बेच्ने, मुद्रान्नको मूल्य कति निर्धारण गर्नेजस्ता कुराहरुमा निर्णय लिने काममा मिडिया नै सहयोगी बन्ने गरेको छ ।
मिडियाद्वारा सुसूचित नागरिक सबल हुन्छन्, जसले उनीहरुलाई निरीह हुनबाट जोगाउँछ । मिडियाको यसप्रकारको भूमिका साँच्चै नै सराहनीय छ । मिडियामार्फत् सार्वजनिक भएका समग्र परिदृश्यहरुले 'पब्लिक मुड', राजनीतिक परिवेशलगायत वस्तुस्थितिहरु थाहा पाइने भएकाले मिडिया धेरैका लागि 'पाथ फाइन्डर' बनेको छ ।

यी तमाम दृष्टान्तहरुलाई हेर्दा वर्तमानमा मिडिया महत्वपूर्ण पक्ष बन्दै गएको देखिन्छ । मिडियाको महत्वले 'मिडिया क्रेज' पनि ह्वात्तै बढेर गएको छ । त्यसमा पनि युवापुस्ताको मिडिया 'क्रेज' बताइनसक्नुको छ । कलेजमा मानविकी सङ्कायमा भर्ना हुने अधिकांश विद्यार्थीहरुले आमसञ्चार र पत्रकारिता नै पढ्न रुचाएको पाइन्छ । युवापुस्ताको यही मनोविज्ञानलाई ध्यानमा राखेर अधिकांश कलेजहरुले आमसञ्चार र पत्रकारिता विषयलाई पाठ्यसूचीमा समावेश गरेका छन्, जुन प्रकारान्तरले विद्यार्थीलाई आकषिर्त गर्ने माध्यम बन्न गएका छन् ।
अर्कोतिर- पत्रकारिता एवम् उद्घोषणकलासम्बन्धी प्रशिक्षण केन्द्रले गर्ने आकर्षक विज्ञापन र त्यसैको लहैलहैमा लागेर प्रशिक्षण केन्द्रहरुमा जम्मा हुने युवाहरुको भीड पनि कम छैन । यसलाई पनि युवापुस्ताको मिडिया 'क्रेज' को प्रतिबिम्ब वा सूचकको रुपमा लिन सकिन्छ ।
युवापुस्ता मिडियाप्रति आकषिर्त हुनुका पछाडि असङ्ख्य कारणहरु हुन सक्छन् । तीमध्ये 'जी Ïयाटर' अर्थात् 'ग्ल्यामर Ïयाटर' लाई एक प्रमुख कारणको रुपमा लिन सकिन्छ । 'ग्ल्यामर' का लागि 'एक्सपोजर' उत्तिकै महत्वपूर्ण छ । मिडियाले उनीहरुलाई राम्रो 'एक्सपोजर' दिन्छ । रेडियोले उनीहरुको सुमधुर स्वरलाई हजारौँ मानिसबीच परिचित गराउन सघाउँछ । टेलिभिजनले उनीहरुको रुपलाई थुप्रै दर्शकका आँखासामु पुर्‍याउन सघाउँछ । पत्रपत्रिकाको 'बाइलाइन'ले उनीहरुलाई असङ्ख्य पाठकसामु स्थापित गराउँछ । अझ इन्टरनेटमा प्रकाशित सामग्रीले त उनीहरुलाई विश्वसमुदायमाझ परिचित तुल्याउँछ । इन्टरनेटमार्फत् समसामयिक विचारहरु प्रवाह गरेकै कारण थुप्रै मेहनेती ब्लगरहरु राम्रा लेखक र पत्रकारका रुपमा परिचित हुन पुगेका छन् ।

यी विविध कारणहरुले युवापुस्ता मिडियाप्रति आकषिर्त भएको हो । यसले मिडिया शिक्षामा गति थपिदिएको छ । तर, मिडिया शिक्षा समस्यामुक्त भने छैन । मिडिया शिक्षा गम्भीर प्रकृतिका समस्याहरुबाट ग्रसित छ । त्रिभुवन विश्वविद्यालय एवम् उच्चमाध्यमिक शिक्षा परिषद्ले तयार पारेका पाठ्यक्रम समानुकूल परिमार्जन नहुनु, कतिपय कलेजमा फोटोग्राफीलगायतका अन्य प्रयोगात्मक विषयको प्रयोगशाला नहुनु, परीक्षामा पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्न आउनु, लापरबाहीपूर्णढङ्गबाट उत्तरपुस्तिका जाँचिदा परीक्षामा अनपेक्षित नतिजा आउनु, कतिपय कलेजमा असम्बन्धित विषयका शिक्षकले मिडिया पढाउनु, कतिपय कलेजको पठनपाठनमा मिडियाको प्रयोगात्मक पक्ष कमजोर हुनु, पठनपाठनको गुणस्तर र कलेजको भौतिक पूर्वाधारबारे सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन नहुनुजस्ता पक्षहरुलाई मिडिया शिक्षाको प्रमुख समस्याको रुपमा लिन सकिन्छ ।

यस्ता समस्याका भूमरीमा परेका कतिपय विद्यार्थीहरुमा समयको एउटा विन्दुमा पुगेपछि निराशा छाएको पाइन्छ । गुलियोबाट सुरु भएको 'क्रेज' तीतो वास्तविकतामा अन्त्य हुँदा मिडियाका कतिपय विद्यार्थीहरुमा निराशा छाएको छ । भविष्य निर्माणको चरणमा रहेका विद्यार्थीहरुको मनमस्तिष्कमा निराशाले बास गर्नु भनेको विद्यार्थी स्वयम्, समाज, शिक्षण संस्था एवम् मिडिया उद्योगमा नकारात्मक असर पर्नु हो । यसतर्फ सम्बन्धित निकाय गम्भीर हुन आवश्यक छ ।

यहाँनेर मिडियाको अर्को पाटोको बारेमा पनि सानो चर्चा गरौँ । मिडियाबाट पाइने 'ग्ल्यामर'लाई मात्र हेरेर यस क्षेत्रमा प्रवेश गरेका कतिपय युवाहरु कालान्तरमा बाहिरिने गरेका प्रशस्त दृष्टान्तहरु छन् । मिडियामा पाइने 'ग्ल्यामर'भित्र सक्रिय जीवनशैली, सङ्घर्ष र कठोर परिश्रमको कथा पनि लुकेको हुन्छ भन्ने वास्तविकता बुझेपछि कतिपय युवाहरु यस क्षेत्रबाट बाहिरिन्छन् ।

मिडियाको अन्तरकथा जेजस्तो भए पनि सतहमा देखापरेका यी तमाम समस्याहरुलाई समयमै समाधान गर्नैपर्ने देखिन्छ । यसका लागि सम्बन्धित सबै सरोकारवालाहरुले समस्यालाई बेलैमा चिन्नुपर्ने र नतिजामुखी समाधानतर्फ अग्रसर हुनुपर्ने अवस्था छ । यसका लागि आमसञ्चार र पत्रकारिताको पढाइ हुने विश्वविद्यालय एवम् उच्चमाध्यमिक शिक्षा परिषद्, मिडिया पढाउने शिक्षक, मिडियाका पुस्तक लेखक, विद्यार्थी्, शिक्षण उद्योगका हर्ताकर्ता एवम् सञ्चारविद्हरुबीच समय-समयमा अन्तक्रिर्या र विचार-विमर्श हुन आवश्यक छ । यसैगरी परीक्षा प्रणालीमा सुधार, पाठ्यक्रमको समानुकूल परिमार्जन आदि पक्षहरु कार्यान्वयनका लागि सिफारिसयोग्य कार्यसूची हुन् ।

(लेखक मदन भण्डारी मेमोरियल कलेजका आमसञ्चार र पत्रकारिता विभाग प्रमुख हुन्)
स्रोत: नेपालीपत्रडटकम

1 comment:

वसन्त बलामी said...

एकदमै सहि विश्लेषण गरिएको रहेछ । पत्रकारिता अचेल ग्ल्यामरको थलो बनेको देखिन्छ तर पत्रकारिता पढ्नेको भिडतिर हेर्नेहो भने मेहनत गर्न सक्ने कमैमात्र होलान् ।

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers