Wednesday, December 1, 2010

फेसबुक सुन्दरी- ३

–जनक तिमिल्सिना


मेरो नजर एक झल्को उसको अनुहारमा पर्नेबित्तिकै उसलाई चिन्न समय लागेन । कलेजको भुईंतलामा रहेको खुड्किलाबाट स्नेहा तलतिर झरिरहेकी थिई । उसको पछितिर अरु दुई युवती पनि थिए । उनीहरू सरासर ओर्लिए । ओरालोतिर डोरिएको सडकमा हुइँकिने गाडीहरूलाई छल्दै उनीहरू मतिर आए । ऊ सडक वारिपट्टी एउटा पसलमा रोकिई र खै के किन्न थाली । उसका साथीहरू पसलको पेटीमा सुस्ताउन थाले ।
एकछिनअघिसम्मका मेरा उत्साहपूर्ण पाइला टक्क रोकिए । भित्रपट्टीको सडकबाट निस्कनेबित्तिकै मुख्य सडकको छेउमै उसको कलेज थियो । बाटोभरि म उसकै बारेमा सोचिरहेको थिएँ । तर, कैयौं दिन ओहोरदोहोर गर्दा ऊसँग यसरी जम्काभेटको भएको थिएन । मलाई त्यसरी भेट होला भन्ने आशा पनि थिएन । सेन्डल, जिन्स र पर्पल कलरको स्लिभलेस टपमा ऊ झुल्किएकी थिई ।

एकछिन टक्क अडिएँ । मनमा अनेक तर्कना खेल्न थाले । त्यो अनलाइनकी सुन्दरी आज प्रत्यक्ष मेरो अगाडि थिई । लाजले म भुतुक्कै भएँ । अनुहार रातो भयो स्याउका दानाजस्तै । साहस बटुलें र अघि बढें ।
"हाई, लुकिङ सो ब्युटिफुल," मेरो सम्बोधनमाथि प्रतिक्रिया जनाउँदै उसले उत्तर फकाई, "हेलो, रियल्ली.....?! थ्यांक्स् ।" ऊ लजाउँदै मतिर आई र आˆना साथीहरूसँग परिचय गराई ।
'हाई, म प्युरा', 'म प्रतिज्ञा' ....। उनीहरू परिचय दिँदै गल्ल हाँसे । मैले पनि कृत्रिम मुस्कान छुटाउने प्रयास गरें । "ऊ निशान्त, मेरो क्लासमेट," मैले निशान्तको परिचय पनि गराएँ, "हामी एकदमै मिल्ने साथी ।" निशान्त पनि फिस्स हाँस्यो । उसले सबैसँग एक-एक गरी परिचयको हात बढायो ।
काठमाडौंमा निराशा पोतिएको छ । यो सहरमा मुहारमा कान्ति छाएका केही छिटफुट मान्छेमात्र भेटिन्छन् । प्रायः सहरका युवा र नौजवान निराश छन् । राजनीतिक अव्यवस्था, बेरोजगारीजस्ता समस्याले जकडिएको छ उनीहरूको दैनिकी, जसले युवाहरूको दिल खोलेर हाँस्ने अधिकार नै खोसिदिएको छ । तर, यही सहरमा तरुनीहरू भने रहरलाग्दो गरी हाँस्छन् । उनीहरू हाँसेका हुन् वा हाँसेको अभिनय गरेका हुन्, त्यो खुट्याउन म पनि सक्दिनँ ।
सामाजिक, सांस्कृतिक संरचनाकै कारण हो- यहाँ धेरै समस्यासँग जुध्ने पहिलो जिम्मेवारी पुरुषको छ । जन्मँदै गह्रुँगो जिम्मेवारी लिनुपर्ने सामाजिक व्यवस्थाले पनि धेरै युवामनको खुसी खोस्ने गरेको छ । जति निशान्त खुशी थियो, त्योभन्दा कैयौं गुणा बढी स्नेहाका साथीहरूको अनुहारमा खुसी पोतिएको थियो ।
पाँच जनाको समूह सानो बाटोमा रोकिएपछि एकछिनमा मानिसहरूको जाम भयो । अलि असहज महसुस हुनथाल्यो । "हृया ! कस्तो कन्जस्टेड फिल हुँदैछ," हुल बढ्न थालेपछि स्नेहा बोली, "बाटोमा नबसौं ।"
नयाँबानेश्वरका साना सडकहरूमा मानिसको जाममा पर्‍यो भने अचम्म मान्नुपर्दैन । गाडीको जाम त कुरै छाडौं ।
मैले नजिकैको क्याफेमा कफीका लागि प्रस्ताव राखें । स्नेहा र उसका साथीहरू तयार भए । कलेजको अपोजिट साइडमा रहेको क्याफेभित्र हामी छिर्‍यौं र तेस्रो तलामा उलिक्यौं । काठमाडौंको कोलाहल, टाउको दुख्ने धुलो र धुवाँबाट बच्नका लागि यो क्याफे अक्सर मेरो रोजाइ बन्दै आएको छ । मल्लकालीन समयको झल्को दिने शैलीमा बनाइएको यो क्याफे लोभलाग्दो थियो ।
"पाँचवटा कफी," मैले अर्डर गरें । गलल हाँस्दै सबै क्याफेभित्र छिरे र कुनाको टेबलमा गएर बसे, जहाँबाट पारिपारिका हरिया डाँडा चियाउन सकिन्थ्यो । त्रिकोणीय टेबलमा एकतिर स्नेहाका साथीहरू, एकतिर निशान्त र अर्कोतिर स्नेहा र म बस्यौं ।
निशान्तको नजर एकोहोरो स्नेहातिर थियो । मलाई फिट खान्छे कि खाँदैन, ऊ यसैको नापतौल गरिरहेको हुनुपर्छ । हाइट, लम्बाइ, चौडाइ, ट्यालेन्ट, रुप, रंग, लवाइखवाइ-- उसले एक-एक चेक गरेको हुनुपर्छ । म भने उसका साथीहरूसँग गफिदै थिएँ । उनीहरू रमाइला थिए । सिनेमाको जोकरजस्तै हँसाउन सक्ने खालका । कैयौ पटक हामी सँगसँगै हाँस्यौं ।
एकछिनपछि निशान्त स्नेहाका साथीहरूतिर केन्दि्रत भयो, स्नेहा मतिर । उसले एकटकले मलाई चियाउन थाली । मैले मेरो मुभमेन्ट केही कम गरें ।
एकोहोरिएर मतिर केन्दि्रत भएकी स्नेहा राती भएकी थिई । उसका निश्चल परेलाहरूमा चियाएर हेरें, लोभलाग्दा र कामुक थिए । केही समयअघिसम्म मेरो अनुहारमा केन्दि्रत भएकी उसले एकछिनपछि खल्तीबाट मोबाइल निकाली ।
अब भने ऊ मोबाइलमा घोरिई । च्याटरुममा पसेकी हुनुपर्छ-- मैले गमें ।
"इन्टरनेटबिनाको जीवन त म कल्पनै गर्न सक्दिनँ," कुनै दिन च्याटमा उसले मलाई भनेकी थिई, "म नेट सर्फ नगरिरहन सक्दिनँ ।" माइक्रो, क्याफे, क्यान्टिन, लाइब्रेरीमा पनि ऊ अनलाइन बस्छे र मसँग गफिन्छे ।
"इन्टरनेट एडिक्ट नै रहिछे," सोचें, "मभन्दा पनि बढी ।"
मैले पनि भर्खरै बजारमा आएको नोकियाको सीथ्री मोबाइल सेट निकालें र अनलाइन चहार्न थालें ।
'फेसबुक डटकम' टाइप गरें ।
ऊ अनलाइनमै थिई । एकछिन फेसबुकको च्याटरुम सम्झें, जसले हाम्रो जीवनमा कमाल गरिरहेको थियो ।
हामीले यही च्याटरुमबाट सम्बन्ध सुरुवात गरेका थियौं । यसैबाट हामी राम्रो साथी बन्यौं र अहिले यसरी आमनेसामने छौं ।
"सरकार पछि परेछ," उसलाई अनलाइनमा देख्नेबित्तिकै मैले फ्याट्ट भनें ।
"किन नि ?" उसले प्रश्न तेस्र्याई ।
"हात-हातमा मोबाइल र घर-घरमा इन्टरनेट सरकारी नारा त पछि परेछ नि !"
"किन नि ?" उसले अझै बुझिन ।
"हातमा-हातमा मोबाइल, जहाँ गयो, त्यहीं इन्टरनेट पो नारा हुनुपर्छ त ।"
"हा.. हा.. हो है ।" लामो हाँसो हाँस्दै उसले सहमति जनाई ।
उसको हाँसोबाट झ्यालबाहिरको दुनियाँमा डुबेका प्युरा, प्रतिज्ञा र निशान्त पनि झस्किए ।
"ओए किन हाँसेकी यसरी ? फेरि अनलाइनमा कसैले पर्पोज गर्‍यो कि क्या हो ?" प्रतिज्ञाले उसको हाँसोमा प्रतिक्रिया व्यक्त गरी ।
"अनलाइन ब्युटीको के भर," प्युरा पनि के कम-- अघि सरिहाली, "कोही नयाँ राजकुमार पो भेटियो कि !"
"ओए साली, त्यस्तो केही होइन," स्नेहा झोक्किई, "जहिले पनि इरिटेटिङमात्र गछ्र्यौ ।"
एकछिन टेबल वरपर हाँसोको फोहोरा छुट्यो ।
टेबलमा कफी आएपछि हाँसो बन्द भयो । चिसो मौसमको तातो कफीको सुरुप-सुरुपमा डोरिए सबै ।
"ओए सीथ्री बजारमा आएछ," केही दिन पहिले युवाहरूलाई लक्षित गरी नोकियाले बजारमा ल्याएको सीथ्री मोबाइल सेट लन्चिङको समाचार पढेपछि उसले मलाई भनेकी थिई, "मलाई किनौं-किनौं लाग्यो यार ! तर क्या बोर, अस्ती भर्खर नयाँ सेट किनेको, अब त घरमा ड्याडलाई कसरी भन्नू ?"
आˆनो मोबाइलको च्याटरुमबाट ध्यान बिथोलिएपछि उसको आँखा मैले भर्खरै किनेको सीथ्रीमा पर्‍यो । मेरो हातमा देख्नेबित्तिकै उसले आफूतिर तानी । फङ्सन चेक गर्न थालिहाली ।
"वाउ ! क्या सेक्सी ग्याजेट," उसले भनी । चलाउँदा-चलाउँदै एकछिन रोकिई ।
केही फङ्सन चलाउन नआएको हुनुपर्छ-- मैले सोचें ।
"क्यान आई हेल्प यु ?" स्नेहाछेउ पुगेर सोधें । टाउको हल्लाउँदै उसले सहमति जनाई । मैले सीथ्री लिएर अपरेट गर्न थालें । स्नेहा मतिर झुकी । यसरी झुक्दा उसका कोमल गालाले मेरो गालामा स्पर्श गरे । सिल्की कपाल अनुहाभरि फैलियो । मेरो जिउभरि काँडा फुले ।
ऊ अझै टाँस्सिएर हेर्न थाली, जुन अलि बेरसम्म चलिरहृयो । यतिन्जेल टेबलको कफी पनि चिसो भइसकेको थियो ।
"कफी चिसो भइसक्यो," निशान्त करायो ।
म मीठो सपनाबाट ब्युँझेझैं भए । मनैमन निशान्तसँग मुर्मुरिएँ ।
"लाऽ ! कफी त चिसो भइसकेछ," स्नेहा कफीको चुस्की लिन थाली । र, म पनि ।
"अब त ढिलो भइसक्यो," प्रतिज्ञा बोली, "घरमा मार्छन् ।"
"ल अब हिडौं," निशान्त र प्युरा पनि बोले ।
म पनि मन नलागी-नलागी स्नेहासँगै टेबलबाट उठें । हामी क्याफेबाट बाहिरियौं ।

नेपालीपत्र डटकमबाट

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers