Saturday, November 27, 2010

फेसबुक सुन्दरी-२

-जनक तिमिल्सिना

हिजो साँझ अबेर त्यो सुन्दरी अनलाइनमा झुल्केकी थिई । अनलाइनमा झुल्किने बितिकै मैले सोधें, "हाई ! हाउ आर यु ।" उसले कुनै रिप्लाइ फर्काउने कष्ट गरिन ।
मन एकहोरो एक तमासको भयो । हृदयबाट क्रन्दनहरु चित्कार्न थाले । वातावरण निकै कोलाहलयुक्त लाग्न थाल्यो । विरहको भूत आफैभित्र सवार भएको भान भयो ।

मैले कसैलाई सायदै मन पराएको थिएँ । ऊसँग मेरो भेट नभएको निकै समय भैसकेको थियो । यही अफिस । यही कम्प्युटर र यही स्क्रीनबाट मैले ऊसँग आफ्नो सम्बन्ध गाँसेको थिएँ । रुमानी कल्पनाहरुको उचुक भार ममा सवार थियो ।

सुरुवाती समयमा कुनै दिनको मध्यान्ह थियो । आकाशबाट केही ढिक्का पानी कालोपत्रे सडकमा खसिरहेका थिए । अफिसको झ्यालबाट देखिने टाढा-टाढाका मनमोहक दृश्यले कालो बादलमा सुन्दरताको तस्विर बनाएका थिए । तल सडकमा हिँड्ने युवतीहरुका शरीरहरुलाई तिनै पानीका थोपा-थोपाले स्पर्श गरिरहेका थिए । चिल्ला गाला, लाली ओठ, रेशमी कपाल, गाजलु आँखादेखि मुलायम शरीरको स्पर्शमा रमाइरहेको वर्षा निकै इष्र्यालाग्दो थियो । जिन्स पाइन्ट र स्लिभलेस भेष्टमा सजिने युवतीहरुले आफ्नो पोटिलो वैश देखाइरहेका थिए ।

एकैछिनको सिमसिमे वर्षापछि पानी रोकियो । रोमाञ्चक र सुन्दर मौसम एकाएक कता गायब भयो कता ! ल्यापटपको माउस क्लिकतिर डोरिएँ, फेरि म । भर्खरै किनेको ल्यापटप मेरो प्रेमिकाजस्तै हो । दुःख, पीडा र रोदन मात्र होइन खुशीको रौनकमा पनि यहीसँग साट्छु म । ल्यापटपको अगाडि बस्दा जहिले पनि मलाई न्यानो र आनन्दको अनुभूति हुन्छ । स्क्रीन र की-बोर्डहरुको सुम्सुम्याइमा म आफ्नो मात्र होइन धेरैको जीवनको रंग देख्छु र लेख्छु । मसँग रमाउने की-बोर्डका बटनहरु नौजवान युवतीका मुलायम अंगहरुजस्तै लाग्छन् । जति स्पर्श गर्‍यो त्यति आनन्द आउने ।

भर्चुअल संसारमा धेरैलाई साथी बनाएउन सहयोग गरेको थियो, यसले मलाई । त्यही भर्चुअल संसारमा केही समयअघि अर्को एउटा केटीको प्रवेश भएको थियो । सायदै जीवनको कुनै सपनामा ऊ मसँग मीठो पल बनेर आएकी थिई ।

मेरो फेसबुक ठेगानामा उसलाई देख्नेबित्तिकै अनगिन्ती सपनाहरु सजाउन थालिसकेको थिएँ । "यो प्रेम त अन्धो रहेछ, मैले नचिनिकनै यसले मेरो मन चोरी," मैले आफैँभित्र गमेँ ।

त्यसपछि मन त त्यसै-त्यसै बहलिन थालेको छ । मजस्तै स्लीम त्यो सुन्दरीको उमेर पनि मसँग मिल्ने छ । यसअघि पनि हामी धेरै पटक गफिइसकेका छौँ । राजनीति, दर्शन, जीवन, भविष्य, माया, प्रेम, डिस्को, थेग आदि कुनै कुरा छुटेका छैनन् । घरपरिवार, आमा बुवा, कलेज, विषय यस्तै-यस्तै सबै कुराका बारेमा हाम्रो गहिरो छलफल चलिसकेको छ ।

हामी भर्चुअल संसारका राम्रा साथी बनिसकेका छौँ । तर, हामीबीच केही भौगोलिक, मानसिक दूरीहरु छन् । जसलाई अस्पष्टता, शंकाले मलजल गरिरहेका छन् । भूगोलका हिसाबले त हामी केही मिनेट र केही घण्टाको दूरीमा छौँ । तर, हामीलाई त्यो भौगोलिक दूरी पनि टाढा-टाढाको समुन्द्रपारिजस्तै छ । मैले कयौँ पटक ऊसँग कफीका लागि जाभा जाने प्रस्ताव पनि राखेको छु तर ऊ त्यसमा त्यति लालायित छैन । अनि मैले कर गर्न पनि आवश्यक ठानेको छैन । मैले आफूलाई उसको नजिक बनाउन खोजिरहेको छु ।

एकपटक ऊसँग फोन नम्बर पनि मागेको थिएँ । तर, उसले के सोची कुन्नी मलाई फोन दिन आवश्यक ठानिन । मैले पनि उसलाई कर गर्न सकिनँ । त्यसपछि मैले ऊसँग फोन नम्बर साट्ने कुरा छोडिदिएको छु । सम्बन्ध क्रमशः विस्तारित बन्दैछ । तर, सुस्त गतिमा । त्यसैले पनि म अधैर्य बन्न थालिसकेको छु ।

काठमाडौँको मौसम उज्यालिदै थियो । दशैँको बहार सुरु भएको थियो । मोबाइलमा साथीहरुको थरी-थरीका म्यासेजहरु थिए । तर, मेरो मन खिन्न थियो । मैले मेरो प्यारो साथीलाई म्यासेज पठाउन पाएको थिइनँ । अनगिन्ती मायाका शब्दहरुले उनेको थिएँ, त्यो म्यासेज । रुमानी कल्पनाको एउटा ठूलै संसार खडा गरेको थिएँ, जाबो निर्जिव शब्दहरुमा पनि । कैयौँ साउने अँध्यारा रातका सुनसान प्रहरहरु, कैयौ जुनेली रातहरु र कैयौँ मिर्मिरेहरु, मैले त्यही म्यासेज बनाउन व्यतीत गरेको थिएँ । तर, ऊ निकै दिन अफलाइन भई । मैले उसलाई 'वीस' नै गर्न पाएन । फेसबुकमा म्यासेज लेख्छु भनेर कैयौँ दिन प्रयत्न पनि गरेकै हुँ । तर, कामको व्यस्तताले मैले उसलाई म्यासेज गर्न सकिनँ । दशैँका लागि गाउँ हिँडे ।

दशैँ सकियो र म पुनः काठमाडौं फर्किएँ । फेसबुक खोेलेर सबैभन्दा पहिले उसको नाम टाइप गरेँ । उसले अपडेट गरेका स्टाटसहरु सरसर्ती चियाए । तस्वीर हेरेँ । दशैँको समयमा खिचेका केही नयाँ तस्वीरहरु थिए । निधारभरि लगाइका गुलाबी र राता टीका । चुल्ठोमा सिउरिएका हरियो जमरा । मुस्कानसँगै खुलेको मुहार । गलामा झुण्डयाइएको हारसँगैको पानबुट्टे हरियो कुर्ता । जसमा ऊ अझै कामुक र सुन्दर देखिएकी छे । अर्को तस्वीरमा अझै रौनक भेटिन्छ । जहाँ तीनकुने आकारमा तस्विर कैद गरिएको छ । बाँधिएका हातमा लगाइएका दुई वटा चुरा एक वारास्लेट उसलाई झनै सुहाएका छन् । एकतिर अगाडि अर्कोतिर पछाडि पारेर कोरेको कपाल कानमा झुण्डयाइएका रिङ, यस्तै यस्तै चिजबिजले स्वर्गको परीजस्तै देखिएकी छे ऊ ।

"लुकिङ ब्युटिफूल' मैले कमेन्ट गरेँ । अनि स्टाटसमा यसपटकको दशैँ त्यति रमाइलो भएन भनेर लेखिएको थियो । मभन्दा पहिला उसका केही साथीहरुले कमेन्ट गरिसकेका थिए । मैले थपे, "किन नि स्नेहा ?"

ऊ अर्थात् मेरी स्नेहा । मेरो प्रेरणा स्नेहा । मेरो बाँच्ने आधार स्नेहा । दशैँको रौनकमा किन रमाउन सकिन, म आफैँलाई थाहा थिएन तर दशैँ यस पटक खल्लो भयो । केही दिन प्रतिक्षा गरेँ । अझै ऊ अनलाइनमा आइन । कैयौँ दिन राति अबेरसम्म खुला ल्यापटपमा उसकै प्रतिक्षा गरिरहेँ, ऊ आइन । अस्ति एकदिन म नभएको बखत ऊ अनलाइनमा आएर केही साथीहरुलाई कमेन्ट फर्काइछ । मैले भेट्न सकिनँ, थकथकी लागिरहृयो ।

त्यसपछि हिजो बेलुकी मात्र ऊसँग अनलाइनमा कुराकानीको अवसर जुरेको थियो । मैले चार पाँच पटक अनलाइन सन्देश लेख्दा पनि उसले मलाई रिप्लाइ फर्काइन । अनि मन खिन्न भयो । म भावुक बनेँ र अफिसबाट निस्केँ । उसको प्रत्येक शब्द मेरा लागि अमृत र शीतल छहारी हुन्थ्यो । मेरो मुटुको जलनको मलम हुन्थ्यो । म त्यही शब्दको पर्खाइमा थिएँ तर...

हिजो उसले केही नफर्काए पनि आज पुनः मैले उसलाई अनलाइनमा देखेँ ।
मन थामिएन । तिनै शब्दहरुको खोजीमा भौतारिरहृयो र लेखेँ, "किन रिसाको ?" फेरि लेखेँ, "केमा बिजी हो यस्तो विधि ?"
बल्ल रिप्लाइ आयो, "सरी ल अघि म फोनमा बिजी थिएँ ।"
"ए हो र ?," मैले सन्तोषको श्वास फेरेँ, "अनि अरु सुनाऊ न नयाँ खबर ।"
"नयाँ त केही पनि छैन यार सब पुरानो हो," उसले भनी ।
कुरा अगाडि बढ्न थाल्यो । मैले हिजो अनलाइनमा रिप्लाइ नगरेकोमा रिसाएजस्तो गरेँ । "म हिजो अलि टेन्सनमा थिएँ क्या ! त्यसैले हो," उसले स्पष्टीकरण पेश गरी ।
"भन्न मिल्छ भने," मैले थपे, "किन टेन्सन भएको भन न ?"
"सानो टेन्सन हो अब मिलिसक्यो," उसले भनी, "भन्न त मिल्छ बट अहिले सल्भ भैसक्यो ।"

"हो र ? गुड," मैले उत्तर फर्काएँ, मानौँ उसको समाधान हुनु मेरै समाधान हो, "भन न त के सानो कुरा के रहेछ, हामीले सुन्न हुन्न ?"

"दा बाहिर जानु भा को थियो एन गएपछि कल गर्नु भएको थिएन त्यसैले," उसले उत्तर दिई । अब त भोलि आउँदै हुनुहुन्छ," उसको लेखाईले उत्साहित भइरहेको जनाउ दिइरहेको थियो, "मेरो मोबाइलमा चार्ज सकियो लाइन आएसी गफ गरौँला ल वाइ ।"

हतारमा किबोर्ड बजाएँ, "वाइ टेक केयर । हयाभ अ गुड नाइट ।"



1 comment:

Anonymous said...

relly emotional

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers