Monday, February 28, 2011

हृयाप्पी भ्यालेन्टाइन


–जनक तिमिल्सिना

"म यी भावनाहरू शब्दमा व्यक्त गर्नसक्दिनँ । यी भावना अमर छन् र मलाई उत्साही बनाइरहेका छन्, भ्यालेन्टाइनको यो पूर्वसन्ध्यामा म ती तीन शब्द तिम्रा लागि भन्न चाहन्छु, 'तिमीलाई माया गर्छु'," काठमाडौंका २२ वर्षीय नवीन शर्माले नयाँ बानेश्वरस्थित साइबरबाट अस्टि्रयाकी युवती क्याथियालाई अंग्रेजीमा लेखेको इमेलको नेपाली अनुवाद हो यो ।
फेसबुक चलाइरहेको छु । न्युजरुममा स्टोरीको 'डेडलाइन' घर्किदैछ । भ्यालेन्टाइनको बारेमा स्टोरी लेख्नु छ । यत्तिकैमा फेसबुकमा एउटा केटी 'हाई' भनेर म्यासेज लेख्छे । म 'हेलो' भनेर उत्तर फर्काउँछु । नवीनले भ्यालेन्टाइन पूर्वसन्ध्यामा क्याथियालाई लेखेको त्यही इमेल उसलाई पठाइदिन्छु, जुन मैले मेरो स्टोरीको पात्र नवीनबाट अघि नै हात पारिसकेको थिएँ । केटी 'सपर््रराइज' हुन्छे । मसँग गफिँदै गरेकी ऊ एक्कासी मौन बन्छे । "कुनै युवकले समुद्रपारिकी प्रेमिकालाई लेखेको इमेल सन्देश हो यो," मैले प्रष्टीकरण दिन्छु । ऊ उत्साहित बन्छे । भ्यालेन्टाइन र प्रेमका बारेमा सोध्छु । ऊ आफूलाई 'आइडिया' नभएको बताउँछे । तर, भोलि साथीहरूसँग नाइट क्लबमा झुम्न जाने तयारी गरिरहेकी छे । उसलाई प्रेमका बारेमा केही बोलाउने मेरो प्रयास जारी रहन्छ । हालै भेटेको एउटा चर्चित पुस्तकको बारेमा लेखिएको सानो समीक्षा उसलाई पठाउँछु ।
पुस्तक हो एरिच सेगलको 'लभ स्टोरी' । धनी परिवारकोे केटा र गरिब परिवारकी केटीको प्रेम सम्बन्धको मार्मिक वर्णन छ, त्यसमा । कलेजमा भेट भएपछि एकजोडी तन्नेरीहरूबीच प्रेमको बीज रोपिन्छ । अनि कोपिला हुँदै फुल्न थाल्छ । तर, समय परिवर्तनको उभार आउँछ । कोपिला धर्मराउँदैन । झन् अडिग बनेर फक्रन थाल्छ । त्यो जोडी हो- ओलिम र जेनिफरको । आँखाबाट सुरु भएको उनीहरूको प्रेम झांगिँदै विवाहसम्म पुग्छ । ओलिमको परिवार बाधक बन्छ र त्यागिदिन्छ उसले । दुवै नयाँ घरमा बस्न थाल्छन् । यहाँसम्म पारिवारिक बन्धनलाई तोड्दै प्रेमजीवनको उत्कर्ष विवाहसम्म पुगेको प्रेमप्रसँगको रोमान्टिक चर्चा छ ।
ओलिमले राम्रो ठाउँमा जागिर पाउँछ । जीवन सुखसँग चलिरहेको हुन्छ तर यतिखेरै कथा अर्कोतर्फ मोडिन्छ । उनीहरूको जोडीले प्रेम, विवाहको गोरेटोलाई पार गरिसकेको हुन्छ, अब प्रेमजीवनकै अन्तिम प्राप्ति सन्तानको प्रतीक्षामा हुन्छ । तर, यसका लागि जेनिफर योग्य बन्न सक्दिन । दुवै डाक्टरको सल्लाह लिन धाउँछन् । पछि थाहा हुन्छ- केटीलाई ल्युकेमिया (रगतको कमी हुने) रोग लागेको हुन्छ । केटी कमजोर हुँदै जान्छे र ऊ मर्छे । केटो बाबुआमाकहाँ फर्किन्छ । रोमियो जुलियटको आधुनिक संस्करणको रूपमा प्रसिद्धि कमाएको 'लभ स्टोरी'को सटिक कथा हो यो, जसलाई न्युयोर्क निवासी लेखक सेगलले मार्मिक प्लटमा बुनेका छन् ।
उसलाई लभ स्टोरीको मार्मिक कथावस्तु सुनाइसकेपछि म सोध्छु, "जीवनभर एक्लै बस्न सम्भव छ ?"
"नो आइडिया," उ उत्तर दिन्छे, "केटीहरूका लागि यो असम्भव तर केटाहरू सक्छन् पनि होला ।"
फेरि त्यसैमा प्रश्न थपिदिन्छु, "प्रेम के हो ?" ऊ पुरानै सटिक जवाफ फर्काउछे, "नो आइडिया ।"
यही प्रश्नको जवाफ खोज्न मैले फोन गर्छु त्रिभुवन विश्वविद्यालयका लेक्चरर नारायणप्रसाद शर्मालाईल जो मनोविद् पनि हुन् । "प्रेम केटा र केटीबीच हुने शारिरीक र भावनात्मक आकर्षण हो," उनी भन्छन्, "जुन रुची, आकर्षण र स्वभावबाट प्रभावित हुन्छ ।"
फेरि केटीसँगको इमेल कुराकानी अगाडि बढ्छ । "किन लभ परेको छैन ?" म सोध्छु ।
"आम नट इन्ट्रेस्टेड टु हृयाभ बीएफ," ऊ फेरि जवाफ फर्काउँछे ।
"किन साथीहरूको देखेर रहर लाग्दैन ?" उसको मनोविज्ञान बुझ्ने प्रयास गर्छु ।
"लभ पनि रहरका लागि गर्ने हो र ? आई डोन् थिङ्क सो," ऊ भन्छे ।
म यत्तिमै रोकिन्नँ, सोध्छु, "एक वयस्क केटी सबैभन्दा धेरै केका लागि चिन्तित बन्छे ?"
"डिप|mेन्ट पिपुल हृयाभ डिप|mेन्ट पर्सपेक्टिभ," ऊ थप्छे, "सो इट्स डिफिकल्ट टु टेल ।"
फेरि सोध्छु, "आई वान्ट टु आस्क सम कोइस्चन प्लिज डोन् माइन् ल ।"
तर, ऊ यतिकैमा अफलाइन भइदिन्छे । म सोध्न चाहन्थें- प्रेम दिवसकै रूपमा कुनै दिन मनाउन जरुरी छ कि छैन ? सेक्सलाई प्रेमसँग जोड्न हुन्छ कि हुँदैन ? ऊ अफलाइन भएपछि समाजशास्त्री नवीन रावल (जो, त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र अध्यापनरत छन्) लाईर् प्रश्न गर्छु, "के प्रेम दिवसकै रूपमा मनाउन जरुरी छ ?"
"माया निश्चित समयमा मात्र हुँदैन तर उपभोक्तावादी संस्कृतिको प्रभावले गर्दा अहिले भ्यालेन्टाइन, क्रिसमस इभजस्ता पर्वहरूले महत्व पाउन थालेका छन् । यसका आफ्नै ऐतिहासिक पाटाहरू पनि छन्, जुन आफ्नो ठाउँमा ठीक पनि होलान् । त्यसैले म यसलाई राम्रो-नराम्रो हो भन्दिनँ, यसलाई सापेक्षिकरूपमा हेर्नुपर्छ," उनले यसरी अथ्र्याए ।
फेरि म रावलतिरै फर्किन्छु । "यसमा को जिम्मेवार छ ?"
"उपभोक्तावादी प्रवृत्ति मुख्य जिम्मेवारी छ । उच्च शिक्षामा मारेको फड्को, प्रविधि र सञ्चारको दुनियाँमा भएको अभूतपूर्व क्रान्ति पनि यसमा जिम्मेवार छ," उनी थप्छन्, "भौतिक विकाससँग पनि यो जोडिएको छ भन्न सकिएला ।"
म अर्को प्रश्न थपिदिन्छु, "यसलाई परसंस्कृतिग्रहण वा आत्मीकरण के भन्ने ?" "यसलाई ग्लोबल सिटिजनको अवधारणा मान्ने कि ?" उनी भन्छन् ।
रावल विकास आइडियाजहरूमा प्रगतिशील पश्चिमी समाजको सांस्कृतिक प्रभाव विश्वव्यापी भएको मान्छन् । त्यसैले होला- केही वर्षअघिसम्म काठमाडौंमा सीमित यसको प्रभाव अहिले गाउँसम्म फैलिएको छ, जसले नेपाली समाजमा विद्यमान परम्परागत प्रेम र विवाहसम्बन्धी चलन र मान्यताहरूलाई विस्थापित गर्दैछ । हुन त, प्रेम र यौनमा उदार देखिएको पश्चिमा समाज पूर्वीय विवाह र यौन दर्शनप्रति आकषिर्त हुँदैछ, जसलाई भूमण्डलीकरणको प्रभाव भन्ने वा पश्चिमा कल्चरमा समस्या आएपछि पूर्वीय कल्चरतिर मोडिएको भन्ने, अर्को बहसको विषय होला ।
तर, पूर्वीय युवा जमात भने पश्चिमा संस्कृतिप्रति अभ्यस्त बन्न थालेको छ । यसको विरोध गर्नेहरू पनि छन् । उनीहरू प्रेमलाई एकदिवसीय बनाएर यसको महिमा साँघुरो बनाउनु हुँदैन भन्ने पक्षमा वकालत गर्छन् । प्रेममा भौतिक वस्तुहरूको उपस्थिति बढेकोमा पनि उनीहरूको चिन्ता छ । महँगा उपहार र भौतिक वस्तुसँग प्रेमलाई तुलना गरेकामा उनीहरूको विरोध छ ।
"भ्यालेन्टाइन्स डेलाई 'कालो दिवस' को रूपमा मनाउँदा मलाई आपत्ति छैन । प्रेम गर्ने, बाँड्ने दिन छुट्टयाउने कस्ता मूर्खहरू ! के हामीले कहिल्यै सास फेर्नका लागि भनेर मात्र समय छुट्टयाएका छौं ?" सगरमाथा कलेजका विद्यार्थी सरोज फेसबुक स्टाटसमा लेख्छन् । "गुड, तिमीलाई सय प्रतिशत समर्थन," अर्का नेपाली युवा प्रवीण महर्जन थप्छन् । "मेरो पनि पूर्ण समर्थन," सलोजा स्काई नाम गरेकी एक पत्रकार युवती कमेन्ट थप्छिन् । यसमा विरोध जनाउँदै पशुराम मरासिनी लेख्छन्, "हैन, सरोज के भयो र ? यस्तो उमेरमा माया प्रीतिप्रति त्यति वितृष्णा ?"
पत्रकार सलोजा यत्तिकैमा अनलाइनमा भेटिन्छिन् । म प्रश्न गर्छु, "तपाई किन भ्यालेन्टाइन डेको विरोधी ?"
"म भ्यालेन्टाइन डेको विरोधी पनि होइन र पक्षपाती पनि होइन । तर, वास्तविकभन्दा पनि बनावटी रूपमा भ्यालेन्टाइन डे मनाइन थालिएको प्रति मेरो विरोध हो," उनी भन्छिन्, "संस्कृतिको रूपमा भन्दा पनि विकृतिको रूपमा यो प्रवृत्ति मौलाइरहेको छ, त्यसैले मलाई मन पर्दैन ।" भौतिक वस्तुसँग प्रेमलाई तौलने प्रवृत्ति उनलाई मन नपरेको हो । "भौतिक वस्तुसँग प्रेमको साटफेर गरिनुहुँदैन," उनी थप्छिन्, "भ्यालेन्टाइन डे मनाउनकै लागि देखावटी ब्याइप|mेन्ड बनाउनु पनि उचित होइन ।"
भ्यालेन्टाइन डेको प्रभाव नेपाली समाजमा देखिँदै जान थालेपछि उब्जिएको बहस हो यो । केही वर्षअघिसम्म पश्चिमाहरूको नक्कल भनेर आलोचना खेप्ने गरेको 'भ्यालेन्टाइन डे' विस्तारै नेपाली समाजमा उत्सवकै रूपमा स्थापित हुँदैछ । साइबर स्पेसबाट समुद्रपारिकी युवतीसँग भ्यालेन्टाइन डे मनाउने नवीन, फेसबुकमा भेटिएकी केटी, जो प्रेमबारे थाहा नभएको बताउँदै टाढिन चाहन्छिन्, एकातिर पर्शुराम र अर्कातिर भ्यालेन्टाइनको विरोध गर्ने सरोज, प्रवीण र सरोजा स्काई ।
भ्यालेन्टाइन सुरु हुनु केही दिनअघि नै काठमाडौं र मोसफलका ठूला सहरमा युवाहरूको दैनिकी नै परिवर्तन हुन्छ । गिˆट सपहरूमा उपहार किन्नेको घुइँचो लाग्न थाल्छ । भ्यालेन्टाइन डेको दिनमा राजधानीमा मात्रै लाखौंको कारोबार हुन्छ । भ्यालेन्टाइन कार्ड, चकलेट, गरगहना, घडी, पर्स, रेडिमेड कपडा उपहार दिनु सामान्य भइसकेको छ । कतिपयले यसलाई प्रेमको खरिद-बिक्रीका रूपमा पनि आलोचना गर्ने गरेका छन् । तर, युवायुवतीहरूलाई यस्तो आलोचनाले छुँदैन । त्यसैले त उपहार छनोटमा उनीहरू एकाग्र भइरहन्छन् । टेलिफोन कम्पनीहरूले एसएमएसबाटै लाखौं कमाउँछन्, राति १२ बजेसम्म जाग्राम बसेर प्रेमी/प्रेमिकालाई 'विस' गर्दै अमर प्रेमको कामना गर्नेहरूको ठूलै समूह छ । कतिपय तन्नेरी जोडी अँगालोमा बेरिएर रातभर डिस्को थेक र पबमा रमाउँछन् ।
इन्टरनेटले उभ्याइदिएको साँघुरूपी च्याटरुममा भ्यालेन्टाइन डे मनाउने नवीनजस्तै थुप्रै होलान् । पछिल्लो पुस्ताका लागि प्रेम सस्तो वस्तु भएको भन्नेमा विवाद गरिरहन जरुरी छैन । उनीहरू प्रेमलाई पेयपदार्थसँग तुलना गर्छन् । कतिपयले शारीरिक सुखसँग जोडेर प्रेम गर्छन् र आवश्यकता पूर्ति भएपछि अर्कैतिर सल्किन्छन् । तर, यिनले 'लभ स्टोरी'का पात्रको चोखो प्रेमलाई प्रतिनिधित्व गर्दैनन् ।
मनोविज्ञानका लेक्चर शर्मा भन्छन्, "त्यसैले प्रेम शारीरिकभन्दा पनि भावनात्मक हुनुपर्छ । शारीरिक चाहना पूर्ति एक ठाउँमा छ तर यतिका लागि मात्र गरिने प्रेम होइन त्यो स्वार्थ हो । यसले प्रेमलाई असफल बनाउँछ ।"
प्लस टु र यस्तै कक्षामा हुने सम्बन्धहरूले पनि समाजको रीति र स्वयं युवायुवतीहरूलाई प्रभावित पारिरहेको देखिन्छ । "सामाजिक, आर्थिक, शैक्षिक स्टाटस र फ्याक्टरलाई नहेरी खाली आकर्षणका भरमा गरिने प्रेम असफल हुन्छन्" शर्मा भन्छन् । त्यसैले प्रेम सामाजिक बन्धन हो र यसलाई पेयपदार्थजस्तै स्वादका रूपमा चाख्ने वस्तु बनाइनु हुँदैन । कुनै सन्दर्भमा दार्शनिक माक्र्सकी पत्नी जेनी माक्र्स भन्छिन्, "प्रेमले उत्साहित बनाउँछ भने दुःखले स्पात ।" हृयाप्पी भ्यालेन्टाइन डे !!

1 comment:

Nepali FM said...

ramailo lekh rahecha , ajhai halnu hola hai. hajur ko ni valentine day ramro bhayo hola ni haina ta..

About Me

Blog Archive

Followers