Saturday, October 3, 2009

आकाशका परीहरु

जमिनभन्दा माथिको संसार जहाँ हावा र त्यही हावासँग रमाउने पंक्षीहरुको संसार छ । हो त्यही पंक्षी र निलो आकाशको संसारसँग नाता गाँस्ने सपना । सपनामा त अझैसम्म नाता गाँस्न सकिएको छैन रे । पक्षी र बादलमात्र रमाउने संसारसँग मितेरी गाँस्दा कस्तो रमाइलो होला । सायद यस्तै कल्पना थियो सानो छँदा बाराकी सरु सिम्खडाको । त्यसैले होला उनी आकाश उडानका लागि अथक परिश्रम गर्दैछिन ।

रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारितामा स्नातक पढ्दै गरेकी सिम्ला बाराकी सरुलाई पढाइ र पेशा अलग-अलग भएकोमा कुनै पछुतो छैन । पत्रकारिताको पढाईसँगसँगै आकाशमा उड्ने सपना साचेर बानेश्वरको स्काईवर्ड टेनिङ्ग सेन्टरमा एयरहोस्टेजको टेनिङ्ग लिइरहेकी छिन उनी । सिमराको आकाशमा हवाई जहाज उड्दा उनलाई त्यही जहाजमा उड्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो रे ? इच्छाहरु हवाईजहाजको आवाजसँगै कल्पनामा उड्थे । अब उनी कल्पनाको आकाशमा होइन यथार्थ आकाशमा उड्नेछिन र भन्नेछिन -बाबा, मामु म साच्चै आकाशमा उडे । अनि सिमरामा दुखजिलो गरेर उनलाई आकाशमा उडाउने इच्छा पालेर बसेका उनका अभिभावकहरु भन्ने छन् स्याबास नानु ।

फरक-फरक रुचीको यो संसारमा सामान्य जीवनभन्दा फरक जीवनशैली खोज्ने परम्पराको विकास हुदैछ । जागरिलो जीवनशैलीलाई माया गर्नेहरु पनि नभएका होइनन् । तर, यो मुलुकमा जागर पोख्ने ठाउँ नै कहाँ छ र ? समुन्द्र पारीका देशहरुमा भएको भए उनीहरुको चाहना समयमै पूरा हुन्थ्यो होला ? क्षेत्रपाटीकी बर्षा महर्जन हँसिलो मुहारमा मेरा यस्तै प्रश्नहरुको भीडमा थिइन । सायद, नेपाल उभो गतिमा लाग्यो भने उनको पौरख यो नेपालको लागि हुनेछ । सभ्य, शालीन र लोभलाग्दो नयाँ नेपालको परिचय बोक्ने आधुनिक युवती बन्नेछिन उनी, एयरहोस्टेज ।

बल्खुको बर्नहार्ट कलेजमा बिबिएस पढिरहेकी बर्षा स्काईवर्ड टेनिङ्ग सेन्टरमा आधुनिक सभ्यताको पाठ सिक्दैछिन । भन्छिन्-"मलाई एकछिन पनि फुर्सदमा रहन मन पर्दैन । एयरहोस्टेज ब्यस्त पेशा भएर नै मैले यो पेशा रोज्ने निर्णय गरेकी हुँ ।" फुर्सदिलाहरुको भीड भएको काठमाडौंमा बर्षा जस्तै सबै युवतीहरु भइदिएको भए । उनको यो ब्यस्त हुने सपना पूरा भएन भने के उनी पनि फुर्सदिला युवतीहरुको भीडमा भेटिएलीन त ? होइन, सायद उनी इन्जिनियर बन्नेछिन । भन्छिन्-"म एयरहोस्टेज हुन सकिन भने आइटीतिर लाग्छु ।

प्रतिष्ठित पेशा, ग्ल्यामर जीवनशैली देखेर आएका युवती पनि प्रशस्तै छन् । प्रसादी एकेडेमीबाट प्लस टु सकेर नेशनल मल्टिपल कलेजमा स्नातक अध्ययन गरिरहेकी पूल्चोककी सचिना महर्जन ब्यक्तित्व विकासका लागि आफूले यो पेशा अंगाल्ने सोच बनाएको बताउँछिन । उनकै सहपाठी अनिता रजक भने लोभलाग्दो र रमाइलो पेशा भएकोले आफूले एयरहोस्टेजको तालिम लिइरहेको सुनाउछिन । सेता दाँतहरुलाई रंगीन ओठहरुले ढाक्दै उनीहरु खुशीसाथ भन्दै थिए -'टेक्नीकल र आकर्षक पेशा भएकोले हामी एयरहोस्टेज बन्न चाहेका हौ ।' पंक्तिकारले मनमनै भन्यो गुड लक सचिना, गुड लक अनिता । तिमीहरुको आकाशमा फन्को मार्ने सपना ईश्वरले पूरा गरिदिउन् ।

भक्तपुरमा बसेर निक्लसन कलेजमा म्यानेमेन्ट पढिरहेकी विराटनगरकी स्रष्टीका अधिकारी अभिभावकको रुचीको रंगमा आफ्नो रुची मिसाउँदै बानेश्वरको टेनिङ्ग सेन्टर धाइरहेकी छिन । मलाई मेरा अभिभावकले नै एयरहोस्टेज बनाउन चाहनु भएको हो । तर यतिमात्र होइन मेरो रुची पनि त हो ।'-उनी आफ्नो कारण खोल्छिन । भक्तपुरदेखि नयाँ बानेश्वरसम्मको दैनिकयात्रा अझ बिहान कलेज पनि धाउनैपर्ने ओभरलोड हुदैन? ।'हुदैन त्यस्तो लाग्दैन सायद आफ्नो रोजाइको भएर पनि होला ।' स्रष्टीका भन्छिन् । दिल खोलेर मुस्कुराउँदै मेरो क्यामराको लेन्समा हेरिरहेकी सष्टीकालाई क्यामराको क्लिक-क्लिकसँगै पंक्तिकार काँचको सिसाबाट नियाल्दै भन्यो-क्याबात स्रष्टी भविष्यमा पनि यस्तै मुस्कुराइरहनु तिमीले ।

सिन्धुपाल्चोककी निर्मला आचार्यलाई त यो क्षेत्र अरु सबै क्षेत्रभन्दा एक्स्ट्रा लागेछ अनि चाबेलको बि्रलियन्ट कलेजको पढाइलाई थाती राख्दै एयरहोस्टेज टेनिङ्ग लिन थालिछन् । यसैगरी काठमान्डौको अर्को टेनिङ्ग सेन्टरमा यो पक्तिकारले भेटेका दीपा र बबिता भर्खरै टिनएज टेकेका युवतीहरु हुन् । डिल्लीबजारको पद्यमकन्या कलेजमा प्लस टु पढ्दै गरेकी दीपा र जनमैत्री कलेज कुलेश्वरबाट प्लस टु सिध्याएर स्नातकमा पढ्दै गरेकी बबिता दुवै दिदी बहिनीलाई एयरहोस्टेजको ग्ल्यामरले लोभ्यायो । अनि त्यही लोभले उनलाई टंगालदेखि बानेश्वरको विङ्स टेनिङ्ग सेन्टरसम्मको यात्रा तय गरायो । विशाल दुनियाँलाई आकाशबाट नियाल्न खुबै मज्जा लाग्छ उनीहरुलाई । प्राकृतिक सुन्दरता अझै त्यसलाई आकाशबाट नियाल्दा कस्तो अनुभूति होला । उनीहरु आफै रमाए साह्रै रमाइलो । उनीहरुले सोचेका छन् पहिलो फ्लाइटमा रहँदा उनीहरुलाई संसारै जितेको भान हुनेछ । र थोरै डर पनि लाग्नेछ ।

आखिर टन्नै दाम, छुट्टै परिचय, फरक ब्यक्तित्व, बेग्लै रंग, प्रतिष्ठा र ग्ल्यामर जस्ता विशेषताले नेपाली युवतीहरुको रोजाइ बन्न थालेको छ आकाश । हावामा कावा खान चाहने युवतीहरुका लाम फेसनदार पहिरनमा सजिएर राजधानीका एयरहोस्टेज टेनिङ्ग सेन्टर धाइरहेका देखिन्छ । केही समय अघिसम्म एयरहोस्टेजलाई नराम्रो पेशा मान्ने समाज पनि आज त्यसैमा आफ्नो इज्जत र परिचय खोज्न थालेको छ । फरिया, चोली र निधारमा रातो टीका लगाउने नेपाली युवतीहरुको शरीरमा टनक्क परेका आधा शरीर ढाक्ने लुगाहरु, खुट्टामा हिलटेक बुट, ओठमा लालीको रातो चमक, अनि आँखामा गाजलको टल्काई । निकै रौनक भेटिन्छ । चोलीको संस्कृतिक जालोमा अडेको यो समाजले आफ्नो काचुली फेर्दैछ ।

प्लस टु पछि नै अगाल्न सकिने पेशा भएकोले टिनएजर युवतीहरु यसमा आकषिर्त हुदैछन् । थोरै समय, धेरै पारिश्रमिक, आकर्षक पहिरन अनि फरक स्ट्यान्डर जस्ता आकर्षणले उनीहरुलाई एयर होस्टेज बन्ने सपनामा बुनिरहेको छ । ब्यूटी त बुढो भएपछि सकिन्छ, अनी के हुन्छ त ? पंक्तिकारले सोधेको प्रश्नको सबैले एउटै जवाफ फर्काए- त्यो बेलासम्म त लाइफ नै बनिसक्छ । यदि त्यसो भएन भने बिजनेश गर्नुपर्ला ।

प्रायजसो युवतीहरुले ग्ल्यामरलाई नै यो पेशा रोजाईको प्रमुख कारण ठान्छन् । वीङ्स एयर होस्टेज टेनिङ्ग सेन्टरकी निर्देशक इशा मर्धीकर्मी भन्छिन्-'ग्लाल्यामरस फिल्ड भएकै कारण यस क्षेत्रमा युवतीहरुको आकर्षण बढेको हो ।' स्काई वर्ड एयरहोस्टेज टेनिङ्ग सेन्टरकी निर्देशक रोजी भण्डारीको मत पनि उनको भन्दा फरक छैन । टेक्नीकल प्रोफेशन र ग्ल्यामर भएका कारण नै आधुनिक युवतीहरु एयरहोस्टेज तिर तानिन्छन- रोजी भन्छिन ।

आजभोली टिनएजर युवतीहरुको जमातमा भेटिने इशा । १८ बर्षको उमेरमै प्लस टु सिध्याएर एयरहोस्टेज पेशामा तानिएकी हुन उनी । उनी करिब ५ बर्ष आकाशको यात्रामा रहिन नेपालको आकाशमा मात्र होइन मलेसिया, दुवै अबुदाबी, कतारका आकाशमा समेत फन्को मारिन । रोजी भण्डारीको किस्सा पनि यस्तै छ उनी त १७ बर्षमै एयरहोस्टेज बनिन रे ? नेपालका आकाशका कुना-कुना उनको गन्तब्य बने रे । उनी रमाउँदै आफ्नो उडानलाई स्मरण गर्न थालिन ।

थोरै लगानी गरेर धेरै आम्दानी गर्न सकिने हुँदा अभिभावकहरु पनि आफ्ना नानीहरुलाई यस पेशामा लाग्न प्रेरणा भरिरहेका छन् । बग्रेल्ती खुलेका टेनिङ्ग सेन्टरहरुमा एयरहोस्टेजको आधारभुत तालिम १५०० हजारदेखि ३५ हजारसम्ममै पूरा गर्न सकिन्छ । अरु टेक्नीकल बिषयको तुलनामा यो सस्तो मानिन्छ । तर, यसका एडभान्स कोर्सहरु भने हेरी-हेरी मङ्गगा छन । ६ महिने डिप्लोमा, एक बर्षे डिप्लोमा कोर्सहरु अलि महङ्गो पर्ने बताउँछिन रोजी । उनका अनुसार १ बर्षे डिप्लोमाका लागि करिब १ लाख रुपैया खर्च गर्नुपर्ने हुन्छ । त्यसो भए उनीहरुको तलब कति छ त ? यो भन्दा धेरै एकै महिनामा २५ हजारभन्दा माथि कमाउन सकिन्छ रोजी थप्छिन ।

अर्कोतिर अहिले अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले समेत नेपाली एयरहोस्टेज माग्न थालेपछि यसको बजार थप विस्तार भएको छ । लामो समयको द्वन्द्वबाट आजित भएको नेपालमा शान्तिको स्थापनासँगै नयाँ-नयाँ एयरलाइन्सहरु थपिदै छन् । विभिन्न एयरलाइन्सहरुमा ब्यापक सुविधाहरु बृद्धि गर्दै आफुतिर यात्रुहरु तान्ने होड नै चलेको छ । जसका कारण पनि एयरहोस्टेज बन्न चाहने युवतीहरुको भीड बढेको देखिन्छ ।

जनक तिमिल्सिना
timilsinajanak@gmail.com

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers