Wednesday, October 27, 2010

क्रसरोडकी केटी


जनक तिमिल्सिना
माइक्रो बस रफ्तारमा छ । झ्यालको खुल्ला ठाउँबाट नियमित रुपमा सिरिरि बहने हावाको झोक्काले घरिघरि उसको रेशमी कपाललाई सुम्सुम्याइरहेको छ । अनुहारसमेत ढाकिने गरी सुगन्धित वायुमा फक्रदै अनुहारसम्म फैलिने केशहरुले उसको सौन्दर्य लुकाउने कोसिस गरिरहेका छन् । उसकै छेउको सिटमा भएकाले छिनछिनमा उसका केशहरु मेरो अनुहारसम्म फैलिन्छन् ।
मनले फरक अनुभूति गरिरहेको छ । हावाको झोक्कासँगै उड्ने उसको रेशमी कपालको जस्तो स्वच्छन्दताको खोजीमा छ, मेरो मन । मनभित्रका अनेकन् कल्पनाहरु पनि त्यही हावाको झोक्कासँगै रुमल्लिरहेका छन् । घरिघरि फर्केर चियाउने उसका गाजलु आँखामा बेग्लै खालको मादकता छ । मुसुक्क मुस्कुराउँदा देखिने मृगरुपी नयन र सेता दन्त लहरको सुन्दरताले उसलाई झन् आकर्षक बनाएको छ ।
क्रसरोडको एउटा कुनामा म र उ एउटा माइक्रोमा सँगै चढेका थियौँ । केही अघिदेखि काठमाडौंमा सिमसिमे पानीको परिरहेको छ । सडक हिलाम्य बनेको छ । पैदलयात्रा कठिन बनेको छ । रत्नपार्कबाट माइक्रोबसले शहिदगेटतिरको दिशा समातेको थियो । दरबारमार्गको नाङलो क्याफे मेरो परिचित गन्तव्य थियो । साहित्यका केही हरफहरु बुन्नका लागि म क्याफेलाई छान्थें । क्याफेमा छिर्ने बित्तिकै कडा कफी मेरो टेबलमा आइपुग्थ्यो । अनि कफीको चुस्की लिदैँ म मेरा कथाका प्लटहरु बुन्न थाल्थें । परिवेश अचम्मको थियो । केही मायालु जोडीहरु पनि मजस्तै कफीका नियमित ग्राहक थिए । ढल्दै गरेको सूर्यको सुनौलो किरणसँग मायालु जोडीहरु क्याफेमा भित्रिन्थे । कफीको अर्डर गर्थे । टेबलमा राखिएको कफीसँगै मायालु मुस्कानमा केही पटक चकलेटी चुम्बन साट्थे । घण्टौं एकअर्काको औला चलाएर बस्थे । अनि अाध्यारोले ढाक्नै लाग्दा मायालुहरुलाई बाइक र कारमा राख्ने हुइँकिन्थे गन्तव्यतिर ।
यी लक्का युवायुवतीहरुसँग मेरो कुनै साइनो थिएन । ल्यापटपको कीबोर्डमै व्यस्त रहन्थें म । सुन्दर शब्दहरुको खोजीमा जहिले पनि भौतारिरहन्थे मेरा औलाहरु । मेरो पहिलो उपन्यासका पात्रहरुको कथा पनि सुन्दर शब्दमा उन्नु थियो मलाई । ऋतु, प्यूरा र नवीनका चरित्रहरुलाई कसरी क्यानभासमा उतार्ने भन्ने अर्को कौतुहल थियो । त्यसैले निरन्तर एकान्त र एकाग्रताको खोजीमा हुन्थें म । ऋतु र नवीनको प्रेम कथालाई सुन्दर हरफहरुमा उन्न चाहन्थे । सायद यही कामले मलाई कहिले नाङ्लो, कहिले जाभा, नगरकोट, कहिले सुदूरपूर्व, त कहिले सुदुपश्चिम पुर्‍याउँथ्यो ।
पछिल्लो केही समयदेखि मेरो नियमित लेखन कम भएको थियो । जसरी म क्रसरोडको यात्रा गर्दै थिएँ मेरो उपन्यासका पात्र ऋतु र नवीन पनि त्यही क्रसरोडमा थिए । उनीहरु बाइकको जोडीयात्रामा थिए । तर, म चाहिँ केही दर्जन अपरिचितहरुसँग एक्लो यात्रा गर्दै थिएँ । यही क्रसरोडको यात्रा रत्नपार्कसम्म पुगेको थियो । शहरको जामले आजित पारेको थियो । शहरकै एक चोकमा माइक्रोको लागि कुरेको बखत केही समय उसले मलाई एकोहोरिएर हेरेकी थिई । तर, हजारौंको भिड हुने सहरको व्यस्त ठाउँमा उसलाई मैले वास्ता गर्न आवश्यक ठानिनँ ।
जब माइक्रो बससँगै चढियो र सिट पनि एउटै पर्‍यो । उसले मतिर अझ चासो बढाउँदै गई । अग्ली, गोलो अनुहार, मृगनयनी आँखामा सुन्दर देखिन्छे ऊ । उसले पहिरिएको नीलो रंगको सारीले मलाई ऊतिर तानिरहेको थियो । सारीमा निकै खुलेकी थिई । लाग्थ्यो, यो नीलो साडीसँग मेरो पुरानो नाता छ । हातमा बाँधेको चारपाटे सुनौलो घडि, घाँटीमा झुण्डयाएको हार, निकै सुहाएका थिए उसलाई । तर, उसको अनुहारमा केही फरक संकेतहरु थिए । जसले उसको खुशीमाथि लागेको बादलको सामान्य छनक दिन्थे । ऊ सुन्दर थिई तर खुशी थिइन ।
फरासिलो स्वभावले उसको खुला स्वभावको परिचय दिइरहेको थियो । मसँग बात मार्न कुनै कन्जुस्याईं गरिन । उसको हातमा नोकियाको सस्तो मोबाइल सेट थियो । धेरै सहरिया युवतीहरुको जस्तो तडकभडकको पहिरन थिएन तर साडी र ब्लाउजको साधारण पहिरन ऊ कुनै सिनेमाकी नायिकाभन्दा कम देखिएकी थिइन ।
पुलतीसडकमा माइक्रो जाममा परेपछि उसले मसँग औपचारिक कुराको थालनी गरेकी थिई- "यो देशमा सबैतिर संकटै संकट र अभाव नै अभाव छ है !"
"हो नि," मैले जवाफ फर्काएँ, "विगत ३/४ दशकदेखि राजनीतिक रुपमा दिशाविहीन बनेको देशको दुर्दशा हामीले भोगिरहेका छौं । राजनीति भ्रष्ट र विकृत बन्दैछ । यो पनि त्यसैको परिणाम हो ।"
"हो," उसले मेरो भनाइमा सहमत जनाउँदै थपी, "त्यसैले धेरै मानिसहरु राजनीतिलाई घृणा गर्छन् । विचार र दर्शनलाई तिस्कार गर्छन् ।"
"नेपालको राजनीति दिन प्रतिदिन घृणित बन्दैछ", शायद म ऊसित गफिन चाहन्थें, "त्यसैले धेरै मानिसहरु विदेश पलायन हुँदैछन् । धेरै प्रतिभाहरु खाडी र अबरतिर कौडीको भाउमा बेचिदैछन् ।"
के सोची कुन्नि ऊ एकैछिनमा भावुक देखिई । माइक्रोबाट नदेखिने आकाशतिर केहीबेर टोलाई । पानी पर्न केही कम भएको थियो र शायद एकदुई ढिक्का बादल आकाशमा यत्रतत्र दौडिइरहेका होलान् । मौसम उज्यालिंदै गएको थियो तर उसको अनुहार भने अँध्यारो बनेको थियो ।
एकछिनपछि उसले अकस्मात् मुख खोली, "म पनि जीवनको क्रसरोडमा छु । स्वदेश छोडेर जाने इच्छा नहुँदानहुँदै मेरो लागि विदेश बाध्यता बन्दैछ ।" उसका निश्चल परेलाहरु केही डग्मगाए । "एमएस्सी पास गर्दा पनि केही गर्न सकिएन," उसले भनी, "अझै पनि बुवाआमाकै परिश्रममा कसरी बाँच्ने ?" उसले मसँग दैनिक जीवन चलाउन गाह्रो परिरहेको र जागिरको अवसर नपाएको बताइ ।
म पनि उसको कुराले केही भावुक बनें । "हैन मानिसले यति चाडै आत्तिनु हँुदैन," मैले थपें, "सबै समस्याहरुलाई विचार गरेर अघि बढ्नुपर्छ ।" उ पुरानै अवस्थामा आई । ऊसँग मलाई लामो गफ गर्न मन लाग्यो । मैले आफू लेखक भएको जानकारी दिएँ । फूर्सद भए नभएको सोधँे । ऊ मलाई केही समय दिन राजी भई ।
मैले उसलाई कफीका लागि नाङलोको प्रस्ताव राखें । ऊ मसँग नाङलो जान र दुःख बिसाउन राजी भई । विश्वज्योती सिनेमा हलको छेवैमा झरेर हामी नारायणहिटी दरबारतिर लाग्याँै । जहाँ चार वर्ष अगाडि वसन्तयाममा सामाजिक परिवर्तनका लागि ठूला जुलुसहरु निस्कन्थे । अहिले भने यो सडक शान्त थियो । केही महागा कारहरु सडक छेउमा पार्किङ गरिएका थिए । केही चिल्ला कार अनि केही माइक्रो र मोटरसाइकल गुडिरहेका थिए । नारायणहिटीको गेटको सुरक्षा व्यवस्था पनि पहिलोजस्तो कडा थिएन । दरबार संग्रहालय भनेर गेटमै ठूलो साइनबोर्ड राखिएको थियो ।
त्यो साइनबोर्डलाई उसले एकछिन निकै घोरिएर हेरी । अनि उसले आफ्नो बेलीविस्तार लगाई । उसले सुनाएको विगत मलाई सुन्दर कथाजस्तो लाग्न थाल्यो ।
"त्यो वसन्तयामको आन्दोलनताका म त्रिचन्द्र कलेजमा एमएस्सी पढ्दै थिएँ । म पनि परिवर्तनका लागि लड्नुपर्छ र सामन्ती जंजीरबाट मुलुकलाई मुक्त गर्नुपर्छ भन्ने पक्षमा थिएँ । मेरो जुझारुपन देखेर विद्यार्थी संगठनले मेरो काँधमा त्यतिबेलाका जुलुशहरुको जिम्मेवारी दिएको थियो । आन्दोलन उत्कर्षतिर जाँदै थियो । मैले रातो रंगले अनुहार पोतेकी थिएँ र आन्दोलनको अगाडिअगाडि जुलुसको नेतृत्व गर्दै हिडथेँ ।" उसको अनुहारमा विगतको गौरव देखियो ।
यो त्यही केटी हो । जो कयाँै दिन कलेज परिसरबाटै गिरफ्तार भएकी थिई । हनुमानढोकाका चिसा छिाडीहरुमा गणतन्त्रको वकालत गर्दै रात गुजारेकी थिई । जुलुसको अग्रपंक्तिमा रहेर आन्दोलनको नेतृत्व गर्थी । अनुहारभरि रातो अक्षरमा गणतन्त्र जिन्दाबाद भनेर पोतेकी थिई । विदेशी मिडियाका लागि उसको चम्किलो मुहारमा अंग्रेजी भाषामा रातो रंगमा ठूलो अक्षरमा लेखिएको 'रिपब्लिकन लाइभ' मसला बनेको थियो । कैयौं फोटोपत्रकारहरु उसको अनुहार कैद गर्न तछाडमछाड गर्थे । उ त्यतिबेला त सेलिब्रेटी नै थिई ।
तर, समय फेरिएको थियो । उसले अगुवाई गरेको आन्दोलनले मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । असमानताका जंजीरहरु तोडिएका थिए । जनता कज्याउनु शक्तिकेन्द्र नागरिकको हातमा पुगेको थियो । त्यसैले नारायणहिटी दरबार नारायणहिटी संग्रहालय बनेको थियो ।
जसले धेरै नेताहरुलाई सिंहदरबारमा विराजमान गराएको थियो । महंगा पजेरो र महल मालिक भएका थिए । तर, आज उसको चर्चा भने सकिएको थियो । वसन्तक्रान्तिकी एक समयकी नायिका हो, ऊ । तर, आज त्यही नायिका मुलुकको कुशासनको शिकार बनेकी छे र पलायनका बाटो रोजिरहेकी छे । ऊ जस्तै कति युवामनहरु पलायनको बाटो रोजिरहेका छन् । मलाई गणतन्त्रको बुइँ चढेर अपराधको कुरुप राजनीति गर्नेहरुदेखि घृणा लाग्यो । अनि कुर्सी र स्वार्थका लागि मुलुकको भविष्य दाउमा लगाउनेहरुदेखि दया लागेर आयो ।
उ सुदूरपूर्व इलामको कन्यामबाट राजनधानी छिरेकी थिई । यस्तै दस वर्षजति भयो होला । "एसएलसी पास गरेपछि आइए पढ्न काठमाडौ आएकी थिएँ," उसले भनी, "खेतीपाती गरेर मलाइ पढाउनका लागि अहिले बुवाआमालाई निकै गाह्रो परिरहेको छ । भाइबहिनीहरुलाई पनि त पढाउनुपर्‍यो Û"
जति उसको कुरा सुन्दै गएँ, त्यति नै भावुक बन्दै गएँ । नाङलो पुगेको, टेबुलमा कफी आएको र एक चुस्की लगाएको समेत थाहा भएन । दुखजिलो गरेर छोरीलाई डाक्टर बनाउन चाहने आमा बुवाको सपनाबारे पनि उसले मलाई भनी । आइएमओको परीक्षामा भएको पक्षपातबाट जीवनकै बाटो परिवर्तन गर्नुपरेको थियो उसले । मुलुककै प्रतिष्ठित ठाउँमा उसले एमबीबीएसका लागि कोसिस गरी । ऊभन्दा कमजोरहरुले नाम निकाले तर उसको सोर्सफोर्स पुगेन र बाहिरिई । उसले अर्को पटक पनि कोसिस गरी तर यसपटक पनि ऊ असफल भई ।
अनि ऊ त्रिचन्द्रमा बिएस्सी पढ्न थाली । पहिलो श्रेणीमामा बिएस्सी उत्तीर्ण गरी । त्यसपछि उसले सरकारी कोटामा छात्रवृत्तिका लागि बाहिर पढ्न जाने कोसिस पनि गरी । धेरै राजनीतिक नेतालाई पनि उसले सहयोग मागी । यसमा पनि ऊ असफल भई । उसले त्रिचन्द्रमा नै एमएस्सी भर्ना गरी । एमएस्सी पनि पहिलो श्रेणीमा नै पास गरी ।
एमएस्सी पढ्दाका दुई वर्ष उसले सामाजिक रुपान्तरणका लागि आफ्नो समय मुलुकको राजनीतिक परिवर्तनका लागि लगाई । दिनहुँजसो सभा, सम्मेलन र जुलुसहरुमा सहभागी बनी । उसले ती दुई वर्षमा धेरै पटक प्रहरीको लाठी खाई । त्रिचन्द्रलाई लोकतान्त्रिक आन्दोलनको केन्द्र बनाई । नारायणहीटी अगाडिको सडक तताई । वसन्त क्रान्तिको अन्तिम समयतिर त उसले प्रहरीको गोली नै खानु पर्‍यो । उसको खुट्टामा गोली लाग्यो । उ सडकमा ढली । साथीहरुले वीर अस्पताल पुर्‍याए । ऊ केही दिन थलिई । क्रमशः स्वास्थ्यमा सुधार आयो । ऊ केही हिंड्न सक्ने भई । तर, अझै पनि उसको पूर्ण उपचार भएको छैन । बेलाबेलामा उसलाई खुट्टाले दुःख दिइरहन्छ । उसले थप उपचारका लागि पैसा पाएकी छैन । सोचें क्रान्तिमा होमिने यस्ता कति युवाहरु अझै उपचार नपाएर छट्पटिरहेका होलान् ।
अहिले जागिरका लागि ऊ त्यही अस्वस्थ खुट्टाले सबैतिर धाइरहेकी छे । तर, उसका लागि जीवन जीउने आधार कतै भेटिएको छैन । आन्दोलनताका उसलाई अग्रमोर्चामा डटाउनेहरु मन्त्री बनेका छन् । आसेपासेहरुलाई अवैधानिक ढंगले जागिर बाडिरहेका छन् । तर, ऊ यी सबै अवसरबाट वञ्चित बनेकी छे । अनि ऊ अर्थात् वसन्तक्रान्तिकी नायिका स्नेहा जीवनको क्रसरोडबाट मसँग आफ्ना दुःख बाँडिरहेकी छे । जुन क्रसरोडमा स्नेहा छे, धेरै नेपालीहरु त्यही क्रसरोडमा छन् । सामाजिक परिवर्तनका लागि स्नेहाले गरेको त्याग के बेकारमा गएको हो ? घरिघरि ऊ देखेर मेरो मनमा प्रश्न उब्जिन्छ । सबैभन्दा दुःख त मलाई त्यतिखेर लाग्ने छ- जब ऊ केही समयमै विदेसिने छ । धेरै नेपालीहरुजस्तै विदेशीको हप्कीदप्कीमा उसले बाँच्नुपर्ने छ । अनि जुझारु आन्दोलनकी स्वाभिमानी केटी नेपाल सम्झेर सधैं आँशु झार्नेछे । दुःख, पीडासँग उसले आफ्नो जीवन खोज्नु पर्नेछ । अप्ठयाराहरुसँग उसले भावी जीवनको सपना सजाउनुपर्नेछ । शायद, स्नेहा अब स्वाभिमानी आन्दोलनकी नायिका रहने छैन । भविष्यमा पनि ऊ नायिका बन्ने इच्छा गर्नेछैन, उसले अनुहारभरि रातो पोतेर जुलुसको नेतृत्व गर्ने जाँगर पाल्ने छैन ।
हावाका तरंगहरुमा क्षितिजको समुन्द्रपारीबाट केही दिनमै मसँग गफिने आश्वासन दिएकी छ, उसले । बिरानो मुलुकबाट दुःख, पीडा होइन खुशी र आनन्द पनि बाँड्ने छे उसले मसँग । मेरो डायरीमा केही अक्षरको इमेल आइडी पनि दिएकी छे । च्याटरुमको कुनामा मेरा कैयौं प्रतीक्षाका पलहरु उसको पर्खाइमा बित्नेछन् । अनि कफीको गिलास साटेर चुस्की मारेको क्षण उसले मलाई बारम्बार सम्झाइरहनेछ ।
पैसा कमाएर खुट्टाको उपचार गराएको खबर पनि मेरो प्रतीक्षाको विषय बन्नेछ । अनि ऊ धेरै मेहनतबाट सरल जीवन बिताएको खबर पनि मलाई बेलाबेलामा दिइरहनेछे । एउटा गतिलो आर्थिक आधार बनाएपछि ऊ आफ्नो मुलुक र्फकनेछे । त्यतिबेला स्नेहाले मलाई कुनै क्याफेमा कफीका लागि इन्भाइट गर्ने बताएकी छे । म पर्खिरहेको छु, उसको स्वदेश फर्किने त्यो दिन ।

No comments:

About Me

My photo
Kathmandu, Nepal

Blog Archive

Followers